बागलुङ, कार्तिक २ - मंगलवार बेलुकी बागलुङमा दुर्घटनामा परेको नेपाली सेनाको जहाजका मृतकको शव संकलन गरी काठमाडौं पठाइएको छ ।
नेपाल प्रहरी र नेपाली सेनाले शवहरु संकलन गरी सेनाको हेलिकोप्टरमा बुधवार साँझ सवा पाँच बजे काठमाडौं पठाएको हो । बिरामी बोकेर नेपालगञ्जबाट काठमाडौंका लागि उडेको आइल्याण्ड जहाज बागलुङको बोबाङ गाविस वडा नं. ९ मा दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको थियो ।
बोबाङको चौधुल धुरी भन्ने स्थानमा दुर्घटना भएको उक्त विमान क्षत विक्षत अवस्थामा भेटिएको थियो । प्रहरीको ढोरपाटन चौकी, इलाका प्रहरी कार्यालय बुर्तिवाङ र सेनाको भिमगिठेमा रहेको सूर्यदल गणका जवानहरुले घटनास्थलको उद्धार गरेका थिए ।
आरएएन ४९ विएन २ टी मंगलवार साँझ ७ बजेर ६ मिनेट जाँदा दुर्घटना भएको थियो । उक्त स्थानमा राति १२ बजे उद्धारका लागि गएको प्रहरी पुग्दा जहाजका टुक्राटुक्रा भएको अवस्थामा भेटेको थियो ।
घटनामा परेका मृतकको शव पनि क्षत विक्षत अवस्थामा भेटिएकोले शव पहिचान गर्न प्रहरीले नसकेको प्रहरी नायव उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बताए । घटना स्थलमा हिउँ परेको तथा कुहिरोले ढाकेकोले उद्धार कार्यमा कठीन भएको थियो ।
उक्त स्थानमा नजिकमा हेलिकोप्टर अवतरण गर्ने स्थान नभएकोले सेनाले तीन घण्टा पर अवतरण गरी उद्धारका लागि गएको थियो ।
सबैको मृत्यु
नेपालगञ्जबाट बिमारी लिई काठमाडौंका लागि उडेको नेपाली सेनाको आरएएन ४९ आईलेण्डर बिमान दुर्घटनामा विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ । विमानमा रहेका सबैको शव भेटिएको नेपाली सेनाले जनाएको छ । प्रहरीका अनुसार एकजना पुरुषको शव चिनिने अवस्थामा छ । भेटिएका सबै शब बेलुका पाँच बजे राजधानी लगिने छन् । शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ ।
विमान सदरमुकाम देखि ३६ कोष पश्चिममा रहेको बोबाङको ढोरपाटन नजिकको चौधुल धुरी भन्ने स्थानमा मंगलबार बेलुकी सवा सातबजे दुर्घटना भएको प्रहरी नायव उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बताए । विमानमा चालक दलका मेजर दिवाकर कार्की र विशाल सिंह राठोर थिए । त्यस्तै विरामी केशव ऐरी, विरामीका दाइ रामबहादुर ऐरी, डा। रविता पाठक र मिलन गोतामे विमानमा रहेका थिए ।
स्थानीय दिपक थापाले साँझ ७ बजेर ६ मिनेट जाँदा ठूलो आवाज आएर आगो बलेको देखेपछि प्रहरीलाइ खवर गरेका थिए । सेनाको आरएएन ४९ विएन २ टी मंगलवार साँझ ७ बजेर ६ मिनेट जाँदा दुर्घटना भएको अनुमान सेना र प्रहरीले गरेपछि थापाले बताएको स्थानमा प्रहरी परिचालन गरिएको थियो । बुधबार विहान घटनाको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर ढोरपाटन पुगेको छ । ढोरपाटन प्रहरी चौकी देखि घटनास्थल थप साढे दुइ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।
दुर्घटना स्थल बागलुङ जिल्लाको उच्च पहाडी स्थल हो । उक्त स्थानमा राति १२ बजे उद्धारका लागि गएको प्रहरी पुग्दा जहाजका टुक्रा, मेजर दिवाकर कार्कीको परिचयपत्र सहितको झोला र एकजनाको शव फेला पारेको थियो । उक्त स्थानमा हिउँ परेको तथा कुहिरोले ढाकेकोले उद्धार कार्यमा कठिन भएको चर्तुवेदीले बताएका छन् । बिहान नेपाली सेनाको हेलिकोप्टर त्यस तर्फ प्रस्थान गरेको छ ।
स्थानीय लालकुमारी थापाले उक्त विष्फोट पछि आगो बलेको देखेको बताइन् । ठूलो आवाज सहित विष्फोट भइ आगो बलेको थाहा पाएपछि उनीहरुले प्रहरीमा खवर गरेका थिए ।
बिरामी ल्याइरहेको सैनिक जहाज दुर्घटना
जे पाण्डे/प्रकाश बराल
नेपालगन्ज/बागलुङ- बिरामी लिएर नेपालगन्जबाट काठमाडौंतर्फ उडेको नेपाली सेनाको आइल्यान्डर जहाज बागलुङको बोवाङमा मंगलबार साँझ दुर्घटना भएको छ । आरएएन ४९ बीएन २ टी जहाजमा चालकसहित ६ जना थिए । राति अबेलासम्म उनीहरूको अवस्था खुलेको छैन ।
जहाजमा चालकद्वय विशालसिंह राठौर र दिवाकर कार्की थिए । हुम्लाको सिमकोटस्थित सिंहशार्दूल गणका सैनिक केशवसिंह ऐरी बिरामी परेपछि उनलाई उपचारार्थ डाक्टरसहित काठमाडौं लैजाँदै गर्दा दुर्घटना भएको हो । जहाजमा नेपालगन्जस्थित सेनाको फिए गुल्मका चिकित्सक उपसेनानी डा. रविता पाठक, बिरामी कुरुवा नेपाल प्रहरीको धनगढीमा कार्यरत रामसिंह ऐरी र सेनामा कार्यरत मिलन गोतामे थिए ।
साँझ ६:३० बजे नेपालगन्ज विमानस्थलबाट उडेको जहाज ७:०४ मिनेट जाँदासम्म टावरको सम्पर्कमा थियो । अन्तिम पटक नेपालगन्ज टावरको सम्पर्क छाडेर काठमाडौं टावरमा प्रवेश गरेको जानकारी चालक दलले दिएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका कर्मचारी रामनरेश ठाकुरले बताए ।
चालकदलले अन्तिम पटक ७ बजेर ४ मिनेट जाँदा नेपालगन्ज टावरमा रहेका एटीसी अफिसर सरस्वती शर्मा र सोहनराज जोशीसँग कुरा गरेर 'गुड बाई' भनेका थिए । 'त्यसपछि हाम्रो टावरसँगको सम्पर्क टुट्यो,' ठाकुरले भने । साँझ ७ बजेर ६ मिनेट जाँदा दुर्घटना भएको बागलुङ प्रहरीले अनुमान गरेको छ ।
काठमाडौंसँग पनि सम्पर्क विच्छेद भएपछि काठमाडौंबाट पुनः नेपालगन्जमा खबर गरी जहाज खोज्न थालिएको थियो । राति ९ बजेपछि नेपालगन्ज टावर खुल्ला गरी अवस्था अध्ययन गर्दा जहाज खसिसकेको पाइएको ठाकुरले बताए ।
जहाज बागलुङ सदरमुकामबाट ३६ कोस पश्चिममा रहेको बोवाङ-९ स्थित ढोरपाटन नजिकैको चौधुलधुरीमा दुर्घटना भएको र ठूलो आवाज आएको स्थानीय दीपक थापाले बताए । जहाज खस्दा आगो बलेको देखेपछि दीपकले प्रहरीलाई खबर गरेका थिए । चौधुलधुरी बागलुङ जिल्लाको उच्च पहाड हो ।
दुर्घटना स्थलमा ढोरपाटन सिकार आरक्षणको जंगल र तल्लो भेगमा बोवाङ बस्ती छ । दुर्घटनाको जानकारीपछि तत्कालै प्रहरी पठाइए पनि पैदल यात्रा गर्नुपर्ने भएकाले राति अबेरसम्म घटनास्थलमा प्रहरी पुग्न नसकेको डीएसपी उमाप्रसाद चतुर्वेदीले बताए ।
बत्ती नबाली आएको जहाज धुरीमा ठोक्किएर ठूलो आवाजका साथ विस्फोट भएको देखेको बोवाङकी लालकुमारी थापाले बताइन् ।
उद्धारका लागि भीमगिठेमा रहेको नेपाली सेना र प्रहरी एवं स्थानीय बासिन्दाको टोली गएको छ । रातको समय भएकाले दुर्घटनाको क्षतिबारे केही जानकारी पाउन नसकेको प्रमुख जिल्ला अधिकारी ख्यामबहादुर थापाले बताए ।
द्वन्द्वकालमा बेलायतले नेपाली सेनालाई सहयोगस्वरूप दुइटा जासुसी आइल्यान्डर जहाज दिएको थियो । हाल दुवै जहाज सैनिक प्रयोजनमा उपयोग गरिँदै आएका थिए । तिनैमध्ये एउटा दुर्घटनामा परेको हो ।
धौलागिरि अञ्चल प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण अर्यालका अनुसार ढोरपाटन प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नाथुराम चौधरीको नृतत्वमा ५ प्रहरी र स्थानीयको टोली राति नै घटनास्थलतर्फ गएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक वीरबहादुर पुलामीको टोली उद्धारका लागि हिँडेको अर्यालले जानकारी दिए ।
नेपालगन्जबाट उडेको जहाज प्यूठानको थाराको आकाश भएर भरतपुर हुँदै काठमाडौं छिर्नुपर्नेमा थाराबाट भरतपुरतर्फ नलागी सीधै बागलुङतर्फ मोडिएको टावर रुटमा देखिएको स्रोतले जनाएको छ । टावर स्रोतका उपकरणले राम्ररी काम नगर्दा त्यसो भएको हुन सक्छ ।
यसैबीच काठमाडौंमा सैनिक जनसम्पर्क निर्देशनालयका सहप्रवक्ता कुवेर थापाले दिएको जानकारीअनुसार राति नै उद्धारका लागि सैनिक हेलिकप्टर त्यसतर्फ पठाइएको छ ।
No comments:
Post a Comment
तपाईलाई कस्तो लाग्यो ?यहाँ आफ्नो प्रतिक्रिया दिनुहोस् ।